Harsamaya
अर्णव चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, मकवानपुरमा उच्च सतर्कता
सांकेतिक तस्वीर: हर समय/Har Samaya

हेटौँडा -  बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जारी गरेको सूचनामा वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान, डुबान र पहिरो जाने जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन, वर्षाका बेला बाली नकाट्न तथा नदी र खोला नतर्न अनुरोध गरेको छ । माछा मार्ने, दाउरा सङ्कलन गर्ने र अन्य जोखिमपूर्ण गतिविधि नगर्नसमेत आग्रह गरिएको छ ।

त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटो मार्ग र ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न प्रशासनले सचेत गराएको छ । यात्रा गर्नैपरे सडकको अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र बिरामीलाई सुरक्षित स्थानमा राख्न तथा चौपाया र महत्त्वपूर्ण कागजातसमेत सुरक्षित गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update