Harsamaya
शोकमा डुब्यो सहर !
सवारी दुर्घटना ।

वालिङ - गुल्मीमा भएको सवारी दुर्घटनाले स्याङ्जाको वालिङका चार व्यवसायीको ज्यान लिएपछि सिंगो सहर शोकमा डुबेको छ । एउटै दुर्घटनामा निर्माण व्यवसायी, होटल व्यवसायी र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू गुमाउँदा वालिङले अपूरणीय क्षति व्यहोरेको छ ।

सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा स्कार्पियो दुर्घटना हुँदा ज्यान गुमाउनेमध्ये चार जना वालिङ नगरपालिका–१० मा रहेर व्यवसाय गर्दै आएका थिए । दुर्घटनामा निर्माण व्यवसायी दिलीपकुमार बगाले र उनकी धर्मपत्नी निता बगाले तथा होटल व्यवसायी शिव पराजुली र लोकनाथ पाण्डेको निधन भएको हो ।

एउटै क्षेत्रका परिचित व्यवसायीहरूलाई एकैपटक गुमाउनुपर्दा स्थानीयवासी, आफन्त र व्यवसायी समुदाय स्तब्ध बनेका छन् । वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले एउटै ठाउँका व्यवसायीहरूलाई अकस्मात् गुमाउनुपर्दा निकै पीडाबोध भएको बताइन् । 

गुल्मीको दभौखानीमा गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका तीन जनाको पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ ।

चार व्यवसायीको एकैपटक निधनले वालिङको व्यावसायिक तथा सामाजिक क्षेत्रमा गहिरो शोक छाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update