
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्माको शनिबार हृदयघातका कारण निधन भएको थियो ।
राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रूपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पत्रकारिताको पृष्ठभूमिबाट निर्वाचन आयुक्त बनेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन् । साथै, राष्ट्रपति पौडेलले श्रद्धाञ्जलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।