Harsamaya
‘घाँसीबाट प्रेरित युगपुरुष’ : भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र साहित्यले पायो नयाँ दिशा
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य।

काठमाडौं - नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विक्रम सम्वत १८७१ सालको असार २९ गते तनहुँको रम्घामा जन्मिएका आचार्यले नेपाली साहित्यमा भावनात्मक अभिव्यक्तिको शुरुवात गर्दै संस्कृतको रामायणलाई नेपालीमा अनुवाद गरी आमजनताको हृदयमा अमिट छाप छोडेका थिए।

धनञ्जय आचार्य र धर्मावती देवीका सुपुत्र भानुभक्तको बाल्यकाल ब्राह्मण संस्कार, धार्मिक अनुशासन र सांस्कृतिक परिवेशमा बित्यो। हजुरबुवा श्रीकृष्ण आचार्यबाट सानैमा शिक्षा पाए। उनी संस्कृतका ज्ञाता थिए र काशीवासी रहँदा अनेक ग्रन्थहरू लेखेका थिए, जसको प्रभाव भानुभक्तमा गहिरो रूपमा परेको देखिन्छ।

‘रामायण’ अनुवादमार्फत जनचेतनाको बीजारोपण
भानुभक्त आचार्यले संस्कृत भाषाको रामायणलाई नेपाली जनताका लागि सरल भाषामा भावानुवादसहित प्रस्तुत गर्दा त्यसले धर्म, नीति र आदर्शको सन्देश घरघरमा पुर्‍याएका थिए । उनका लेखनले न केवल साहित्यिक संवेदना बोकेको छ, बरु नेपाली समाजको सांस्कृतिक जगमा पनि गहिरो प्रभाव छोडेको छ।

उनले नेपाली भाषालाई शास्त्रीय भावमा आत्मसात् गराउँदै जनतासम्म पुर्‍याउने अद्वितीय कार्य गरे। ‘रामायण’ बाहेक ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधुशिक्षा’ जस्ता कृतिहरूले नेपाली समाजमा नैतिक चेतनाको विकासमा सहयोग पुर्‍याएको साहित्यकारहरूको ठम्याइ छ।

घाँसीसँगको भेट : साहित्यिक युगको जन्म
भानुभक्तको जीवनमा एउटा महत्वपूर्ण मोड तब आयो जब उनले एक घाँस काट्ने घाँसीसँग संवाद गरे। घाँसीले आफ्नो मेहनतले पैसा कमाएर समाजका लागि इनार खनेको कुरा बताएपछि भानुभक्तलाई आत्मबोध भयो। उनले प्रश्न गरे – “मो भानुभक्त धनि भैकन आज यस्तो?” यही भावनाबाट प्रेरित भएर उनले समाजसेवाको महत्व दर्शाउने ‘घाँसी’ कविता लेखे, जुन आज पनि पाठ्यपुस्तक र काव्य सङ्ग्रहमा अत्यन्त प्रभावशाली र चर्चित छ।

जेलजीवनमा रामायण लेखन
वि.सं. १९०८ तिर सरकारी जागिर गुमेपछि भानुभक्तलाई रकम हिनामिनाको आरोपमा कुमारी चोकमा पाँच महिना जेल हालियो। तर उनले त्यही कैदलाई साधनाको समय बनाउँदै अयोध्या, अरण्य, किष्किन्धा र सुन्दरकाण्डको पद्य अनुवाद पूरा गरे। जेलको अँध्यारो कोठामा उनीप्रति गरिएको अन्यायले उनको लेखनी झनै सशक्त बनेको साहित्यकारहरूको धारणा छ।

उनको जन्मजयन्ती भानुजयन्तीका रूपमा हरेक वर्ष असार २९ गते नेपालभर मनाइन्छ। नेपाल सरकार तथा साहित्यिक संस्था, विद्यालय, विश्वविद्यालयहरूले विविध कार्यक्रमको आयोजना गरी उनको योगदानलाई सम्झने परम्परा रहेको छ। साथै, भारतको सिक्किम, दार्जिलिङ, मेघालय लगायत नेपाली भाषी क्षेत्रहरूमा पनि यो पर्व अत्यन्त श्रद्धाका साथ मनाइन्छ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update