Harsamaya
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण
कार्यक्रममा सहभागी इन्द्रावती गाउँपालिकाका कर्मचारीहरू ।

इन्द्रावती– इन्द्रावती गाउँपालिका कार्यालय, नवलपुरमा क्लेन (CLAN) आयोजना तथा जलवायु परिवर्तनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार गाउँपालिकाका विभिन्न शाखाका १५ भन्दा बढी कर्मचारीहरूको उपस्थिति कार्यक्रम गरिएको हो । 

कार्यक्रमका प्रमुख स्रोतव्यक्ति वातावरणविद् विजय सिंहले जलवायु परिवर्तनका वैज्ञानिक आधार, अन्तर्राष्ट्रिय सन्धी–सम्झौता, राष्ट्रिय नीति तथा स्थानीय तहले अवलम्बन गर्नुपर्ने रणनीतिबारे विस्तृत प्रस्तुति दिएका थिए ।

उनले जलवायु परिवर्तनले विशेषगरी आदिवासी जनजाति, महिला तथा कमजोर वर्गमा पार्ने प्रत्यक्ष प्रभाव, समुदायस्तरका जोखिम, न्यूनीकरण तथा अनुकूलनका उपायहरू र क्लेन परियोजनाको उद्देश्यबारे समेत स्पष्ट धारणा प्रस्तुत गरे।

सिंहले नेपालमा विषादीको अनियन्त्रित प्रयोग गम्भीर राष्ट्रिय चुनौती बनेको उल्लेख गर्दै केही विषादी तत्काल प्रतिबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मनहरी बरालले जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै समुदायस्तरमा जलवायु परिवर्तनका कारण, प्रभाव र न्यूनीकरणबारे व्यापक चेतना अभिवृद्धि गर्नुपर्ने बताए।

उनले जंगली जनावरका लागि वन क्षेत्रमा पर्याप्त खाद्य अभाव हुँदा मानिसले लगाएको अन्नबालीमा आक्रमण बढिरहेको उल्लेख गर्दै वन संरक्षण र बाझो जमिनमा कृषि उत्पादन बढाउनुपर्ने धारणा राखे।

योजना शाखा प्रमुख गोविन्द कोइरालले अहिले जुनसुकै विपत्तिलाई जलवायु परिवर्तनसँग जोड्ने प्रवृत्ति बढिरहेको बताउँदै मूल कारण के हो, वैज्ञानिक रूपमा कसरी पत्ता लगाउने भन्नेमा सबैको ध्यान जानुपर्ने बताए । 

उनीले रैथाने बीउबिजन हराउँदै गइरहेको, त्यसका सट्टा हाइब्रिड बीउको बढ्दो प्रयोग र उत्पादन बढाउन विषादीको अत्यधिक प्रयोगले माटोको उर्वरशक्ति कमजोर हुँदै गएको तथा जलवायु प्रणालीमै असर पर्न थालेको जानकारी गराए।

कार्यक्रममा लेखा अधिकृत भाष्कर पन्त, कृषि शाखा प्रमुख, स्वास्थ्य शाखाका कर्मचारी,  फिल्ड संयोजक पानमाया तामाङ, सामाजिक परिचालक शिला तामाङ सहित विभिन्न शाखाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 गाउँपालिकाले आगामी वर्षका नीतिगत तथा कार्यक्रमगत योजनामा जलवायु अनुकूलन, न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयलाई उच्च प्राथमिकताका साथ समावेश गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update