
रामेछाप - रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले जल, जङ्गल र जमिनको अधिकार स्थानीय तहलाई दिनु पर्ने बताएका छन् । यस वर्षको आर्थिक वर्षमा सञ्चालन गरेको गतिविधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिका प्रमुख लव श्री न्यौपानेले रामेछाप बजारलाई व्यवस्थित गर्न केही समस्या भएको बताउँदै त्यो समस्या समाधानको लागि साझा पहल आवश्यक रहेको बताए ।
रामेछाप ऐतिहासिक तथा सांस्कृतिक महत्वको नगरपालिका भएका बताउँदै त्यसको विकासको लागि आफूहरूले काम गरिरहेको उनले जानकारी दिए । यस्तै पशुपालन, गेडागुडी उत्पादन लगायतका कृषिका क्षेत्र विकासको लागि योजनाबद्ध रूपमा काम गरिरहेको उनले जानकारी दिए । विरोध गरेर भन्दा पनि सबैले मिलेर विकास गर्न सकिने भन्दै उनले विकासमा सहकार्य गर्न आग्रह गरे ।
कार्यक्रममा यस वर्षको प्रगीत विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले ८३. ०५ प्रतिशत बजेट नगरले यस वर्ष खर्च गरेको बताए । यस वर्षको लागि ७६ करोड ८८ लाख ६९ हजार रुपैयाँ बजेट खर्च अनुमान गरिएकोमा ६३ करोड ८७ लाख ६१ हजार रुपैयाँ खर्च भएको उनले बताए ।
यस वर्ष चालु तर्फ ८७.४८ र पुँजीगत तर्फ ७४.६५ प्रतिशत बजेट खर्च भएको पनि उनले जानकारी दिए । चालु तर्फ ५० करोड ५० लाख ४३ हजार रुपैयाँ खर्च अनुमान गरिएकोमा ४४ करोड १८ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ २६ करोड ३८ लाख ५९ हजार रुपैयाँ खर्च अनुमान गरिएकोमा १९ करोड ६९ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।
आन्तरिक राजस्व १ करोड १२ लाख रुपैयाँ उठ्ने अनुमान गरिएकामा १ करोड १४ लाख रुपैयाँ सङ्कलन भएको उनले बताए । आन्तरिक राजश्व अति कम उठ्ने भएका कारण धेरै विकासका काम गर्न नसकिएको उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यस्ता कार्यक्रमले कामको पारदर्शिता कायम हुने र नागरिकको विश्वास बढ्ने बताए । सुशासन प्रवर्धनको लागि यसले सहयोग पुग्ने उनले धारणा राखे ।
कार्यक्रममा नागरिकहरूले उठाएका प्रश्नको नगरपालिका प्रमुख लव श्री न्यौपाने, उपप्रमुख बाला कार्की, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ, वडाध्यक्षहरू लगायतले जवाफ दिएका थिए । कार्यक्रममा स्थानीय नागरिक अगुवा तथा पत्रकारहरूले नगरपालिकाको कामका बारेमा प्रश्न उठाएका थिए ।