-1739799408.png)
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन ।
भेलामा उनले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवस्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताए ।
‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो, जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ।’
पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि अवज्ञा नगर्न महासचिव पोखरेलले चेतावनी दिए ।
भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए ।
‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्’ महासचिव पोखरेलले भने, ‘पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर काँग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’ उनले यी तीनै शक्ति एमालेलाई काँग्रेसबाट अलग्याएर आफूहरू सहितको सरकार बनाउन तल्लीन रहेको पोखरेलले आरोप रहेको छ।