
काठमाडौं - रसुवाको त्रिशुली नदीमा आएको बाढीले आठ वटा इभी गाडी बगाएको छ। गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा मित्रराष्ट्र चीनको एरियामा परेको अविरल वर्षाका कारण इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने ७/८ वटा गाडी बगाएको राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बाढीबाट हालसम्म नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रूपमा क्षति भएको छ । जहाँबाट मानिस र सवारी आवागमन बन्द भएको छ । रसुवागढी हाड्रोपावरमा क्षति पुगेको छ ।
हालसम्म ३ प्र.क., ९ जना नेपाली सेना, ६ जना चाइनिज गरी १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको छ ।
गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्ड स्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अवरोध भएको छ ।