काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबैको माग अनुसार सहकारी नियमन प्राधिकरण बनेपनि प्राधिकरणले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् ।
शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुवात नहुँदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘सबैको माग अनुसार सहकारीलाई नियमन गर्न सहकारी नियमन प्राधिकरण बनेको हो । यसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठीक ठाउँमा आउँदैन ।’
उनले सहकारी नीति र उद्देश्य अनुसार काम नगरेको भन्दै स्रोत नखुलेका अवैध पैसा सहकारीमा चलाइने बताए ।
‘हामीले सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छौ कि छैनौं भन्ने हो । तर सहकारीले ठूलो रकम कसरी आयो भन्ने बारे ख्याल गर्न पर्छ कि पर्दैन । बैंकले त्यसलाई ख्याल गर्नैपर्छ । त्यसको स्रोत चाहिन्छ । सहकारीले साँच्चै धितो नराखीकन ५०/६० करोड एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ?हाम्रो उद्देश्य भित्र छ ? छैन । यो गम्भीर प्रश्न हो,’उनले भने ।
उनले पछिल्लो समय सहकारी गलत बाटोमा हिँड्दा विभाग, मन्त्रालयले ध्यान दिन नसकेको स्विकार गर्दै अब सच्चिएर जानुपर्ने बताए ।