
काठमाडौं - बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज, पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट यो वर्ष १३७ जना विद्यार्थी दीक्षित भएका छन् ।
सातौँ दिक्षान्त समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बीबीए अध्ययन गरेका १३७ विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षान्त समारोहमा बोल्दै क्याम्पसका अध्यक्ष ई.पंकज जालानले भने, ‘कलेज सकेर बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका पनि खोल्ने पनि आफैँले हो ।’
नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको अध्यक्ष जालानले बताए ।
ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीज पी।सी।पी।एस नेपालको प्रतिष्ठित शैक्षिक संस्था एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, अन्तर्गत सञ्चालित छ ।
अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त डिग्री प्रदान गर्ने लक्ष्यसहित पाटन कलेजले विस्तृत अनुसन्धानपछि बेलायतको प्रख्यात युनिभर्सिटी अफ बेडफोरसायरसँग साझेदारी गर्दै आएको छ ।
एक शताब्दी लामो उत्कृष्ट शैक्षिक इतिहास बोकेको युनिभर्सिटी अफ बेडफोरसायरको गुणस्तरीय शिक्षामा प्रतिबद्धता पाटन कलेजको लक्ष्यसँग मेल खाने भएकाले उक्त विश्वविद्यालय उपयुक्त साझेदारका रूपमा चयन गरिएको कलेजले जनाएको छ ।