हेटौँडा - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद उद्धव थापाले कडा आलोचना गरेका छन् । उनले बजेटलाई असमानुपातिक, असमावेशी तथा विभेदपूर्ण भन्दै आपत्ति जनाएका हुन् ।
राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए । ‘बजेटमा विभिन्न समुदाय र क्षेत्रको आवश्यकता तथा अधिकारलाई समेटिएको देखिँदैन,’ थापाले भने, ‘विकासका नाममा केही चुनिँदा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको छ, जसले संघीयताको मूल मर्म विपरीत छ ।’
उनले विशेष गरी पिछडिएको तथा दुर्गम क्षेत्रहरूलाई बेवास्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘हामी समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा गर्छौँ तर बजेटमा त्यो देखिँदैन,’ उनले थपे ।
सांसद थापाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रमा बजेटको असमान वितरणको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकारलाई आग्रह गरेका छन् । साथै उनले बजेट निर्माण प्रक्रियामा जनप्रतिनिधिहरूको पर्याप्त सहभागिता नभएको दाबी गर्दै आगामी दिनमा यसबारे गम्भीर पुनर्विचार हुनुपर्ने बताए ।