Harsamaya
केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौं : उर्मिला थपलिया 
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलिया।

काठमाडौं - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा  भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । प्रदेश प्रतिनिधिहरूनै प्रदेश कार्यसमितिमा आउनुपर्ने उनको धारणा छ । 

केन्द्रीय सदस्य थपलियाले पार्टीमा युवा प्रतिनिधित्व बढाउन पनि माग गरिन् । त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उमेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गर्न प्रस्ताव गरिन् । 

त्यस्तै थपलियाले पार्टीको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएकी छन् । ` खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया  र कर्मचारीतन्त्र हाबी हुन  रोकिन्छ,´ बैठकमा उनले भनिन् । 

त्यस्तै भातृसंस्थाका बारेमा बोल्दै  नेविसंघ पूर्वमहामन्त्री समेत रहेकी थपलियाले भातृ तथा  शुभेच्छुक संस्थाको अधिवेशन २/२ वर्षमा अनिवार्य  गर्नुपर्ने बताइन् । नियमित अधिवेशन हुन नसके सम्बन्धित तहका पार्टी  नेतृत्ले नेतृत्व चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update