
जनकपुर - मधेस प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गए राति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
गए राति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लीमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन् । समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकी छन् ।
सांसद दासले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदै छ भनेर प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ’आखिर के हुँदै छ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदै छन् हामीलाई ? क्रमबद्ध रूपमा दलित समुदायको हत्या हुँदै छ । तानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित ।
केही महिना पहिला एक जनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थियो । आफ्नै देश, घरमा पनि डर त्रासको माहौल छ । कसरी बाँच्ने ?’सांसद दासले डिएसपीलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको समेत बताएकी छन् ।