Harsamaya
आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरू कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन् ?
सहरी विकास मन्त्रालयको पत्रकार सम्मेलन ।

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक वर्षमा मन्त्रालयले गर्ने प्रमुख कामहरुको सुची सावर्जनिक गर्ने क्रममा २०० वटा नयाँ झोलुङ्गे पुल, १०० वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने योजना रहेको जानकारी दिएको हो ।

साथै, १३० वटा सडक पुल मर्मत, २४९ वटा सिँचाई आयोजना सम्पन्न गरी ३७०० हेक्टर जमिन सिञ्चित गर्ने, १०० कि.मि. सडक निर्माण र ३०० कि.मि. सडक कालोपत्रे गर्नुका साथै, ६० वटास्थानीय तहका प्रशासकीय भवन निर्माण गर्ने मन्त्रालयले तयारी गरेको जनाएको हो । त्यसै गरी, उपत्यकाका नदी, खोला कोरिडोरमा १० कि. मि. सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका योजनाका बारेमा बोल्दै मन्त्रालयका सहसचिव नारायण प्रसाद मैनालीले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई समेत प्रमुख प्राथमिकताका साथ अघि बढाउने जानकारी दिए ।

उनले उपत्यकाका ४ स्थान– जितपुर फेदि, डुकुछाप, इशान नयाँ सहर, ताथबी चलाबु मा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भई जग्गा विकास कार्य सुरु गर्नुका साथै उपत्यकाको व्यवस्थित सहरीकरणका लागि हरियाली प्रवर्द्धन, सचेतना, आकासे पानी सङ्कलन, वन तथा पोखरी संरक्षण गरिने पनि जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update