
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले १८ वर्षको अवधिमा जिम्मेवारी सम्हालेका गृहमन्त्रीबारे छानबिन गर्नुपर्ने अडान कारण राखेका छन् ।
शनिबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आफ्ना पार्टीले अघि सारेका पाँच बुँदे मागहरू पुरा नभएसम्म संसद अवरोध कायम राख्ने बताए ।
उनले भने, ‘पाँच बुँदे माग स्पष्ट रूपमा दिएका छौँ । निराकरण गर्न चाहन्छौं भन्नेकुरा पनि राखिसकेका छौँ । हामी कुनै पार्टीको पछि लागेको होइनौं । १८ वर्षमा भएको १४ जना गृहमन्त्री र त्यस दौरानमा भएको क्रियाकलाप शंकास्पद गतिविधिहरूको न्यायिक वा संसदीय छानबिन समितिमार्फत सधैँको लागि निवारण हुनुपर्छ भन्ने माग छ ।’
उनले वर्तमान गठबन्धन सरकारले यस विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए । त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई संसदबाट बहिष्कार गरिरहेको बताए । उनले आम नागरिकले पनि उनीहरूका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरे ।
उनले दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन यो कदम आवश्यक रहेकोमा जोड दिए । शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको र यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।
‘हामीले संसदभित्रबाट बहिष्कार गरिरहेका छौँ । अब तपाईंहरू आम जनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस् । यसले दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन् । यस्ता भ्रष्टाचारीलाई देश निकाला गर्नुपर्छ,’उनले भने ।