Harsamaya
यी प्रदेशमा तीन धेरै भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार राति जारी गरेको विशेष बुलेटिन अनुसार शनिबार साँझबाट बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावको कारण २०८२ असार १४ गते शनिबार साँझ  देखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

तसर्थ, सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update