
रौतहट - पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याक्टर तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई सडकबाट झन्डै १५ फिटतल खसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवाष भट्टले बताए ।
उनकाअनुसार ट्याक्टरमा नम्बर प्लेट उल्लेख नभएको र भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना परेको हो। ट्याक्टर दुर्घटनामा घाइते भएका जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको डीएसपी भट्टले जानकारी दिए । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।