Harsamaya
इन्द्रावती–८ मा ६७ धारा निर्माण, खानेपानीको पहुँच विस्तार

सिपापोखरे – इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा एक घर एक धारा अभियानअन्तर्गत ६७ वटा खानेपानी धारा निर्माण सम्पन्न भई समुदायलाई हस्तान्तरण गरिएको छ। करिब १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त आयोजना जापानी संस्था ज्याफ्स  को सहयोगमा सम्पन्न भएको हो। वडाध्यक्ष डिल बहादुर श्रेष्ठ, ज्याफ्सकी प्रतिनिधि नोरीका यासुकी मल्ल लगायतको उपस्थितिमा धारा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो।

वडाध्यक्ष श्रेष्ठले धारा निर्माणबाट माख्लो गहतेका स्थानीयहरूलाई खानेपानीको समस्या समाधानमा राहत पुगेको बताउँदै आफू निर्वाचित भएपछि १५० भन्दा बढी धारा निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले अबको एक वर्षभित्र वडाका सबै घरमा धारा पुर्‍याउने लक्ष्य रहेको समेत उल्लेख गर्नुभयो। कार्यक्रममा  ज्याफ्सकी मल्लले स्थानियलाई खानेपानीको सुविधा पुर्‍याउन पाउँदा खुसी लागेको बताउँदै जापानी सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। ज्याफ्सले इन्द्रावती गाउँपालिकाका विभिन्न वडामा खानेपानी, कृषि लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update