Harsamaya
सिपापोखरेमा दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न
दोस्रो वडाध्यक्ष कप रनिङ सिल्ड भलिबल प्रतियोगिता ।

सिपापोखरे - ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित इन्द्रावती गाउँपालिका वडा नं. ७ मा सुरु भएको दोस्रो वडाध्यक्ष कप रनिङ सिल्ड भलिबल प्रतियोगिताको पहिलो दिन चार वटा खेल भएका छन्।

पहिलो खेलमा वडा–७ ‘बी’ ले वडा–१२ लाई, दोस्रो खेलमा वडा–७ ‘ए’ ले वडा–८ लाई पराजित गर्दै विजयी भए। तेस्रो खेलमा वडा–५ सूर्यकोटले वडा–१ लाई तथा चौथो खेलमा वडा–४ ले वडा–५ लाई हराउँदै जित हात पारेको युवा तथा खेलकुद शाखाका संयोजक प्रकाश घिमिरेले जानकारी दिए।

सहिद स्मृति कभर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गरेका थिए। उद्घाटनमा बोल्दै अध्यक्ष नेपालले खेलकुद क्षेत्रको समृद्धि बिना समाजको समग्र समृद्धि सम्भव नहुने बताउँदै खेलहरूलाई गाउँपालिकाले अभिभावकत्व लिने प्रतिबद्धता जनाए।

प्रतियोगिता यही असार १४ गतेसम्म सञ्चालन हुनेछ। ‘वडा नं. ७ लाई भलिबलको ‘हब’ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,’ वडा अध्यक्ष रविन्द्र कुमार खातीले बताए।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष वीर बहादुर तामाङ, वडा नं. ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, वडा नं. ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठ, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update