Harsamaya
४ सय ६० मध्ये ४ सय ४५ वटा गाउँपालिकाको बजेट सार्वजनिक

काठमाडौं - देशभरका ४ सय ६० वटा गाउँपालिकामध्ये ४ सय ४५ वटाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ  । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै ४ सय ४५ अर्थात् ९७ प्रतिशत गाउँपालिकाहरूले समय सीमा भित्र नै नीति तथा कार्यक्रम पेश गरेको जानकारी दिएको हो । बाँकी १५ वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन भने एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूमा अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहँदा, जनप्रतिनिधिबिच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको पाइएको छ । आज पेस गर्न नसकेका गाउँपालिकाहरूले केही दिनमा नै सभा सुरु गर्ने जानकारी पनि महासंघले दिएको छ । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आषाढ १० गते भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नु पर्ने व्यवस्था छ । 

कोशी प्रदेशमा रहेका ८८ वटै गाउँपालिकाले बजेट पेश गरेकाे छ भने मधेस प्रदेशमा ५९ गाउँपालिका मध्य ९ वटाको  बजेट पेस गर्न बाँकी रहेको छ । यस्तै बाग्मती प्रदेशमा ७४गाउँपालिका मध्य १, गण्डकी प्रदेशमा ५८ गाउँपालिका मध्य ५६, लुम्बिनी प्रदेशमा ७३ गाउँपालिका मध्य ७१, कर्णाली प्रदेशमा ५४ गाउँपालिका मध्य ५३  वटाको  बजेट पेश गर्न बाँकी रहेको छ ।   यस्तै सुदूरपश्चिम प्रदेशमा सबै गाउँपालिकाले बजेट पेश गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update