काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्चस्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रोपोगाण्डा भएको भन्दै यसका विरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताए ।
उनले भने, ‘पहेँलो हो भन्दैमा पित्तललाई सुन भन्न सकिँदैन् । यो कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भनेर भन्दै गर्दा के हो छानबिन समिति हुनसक्छ ? यो त निगाहा प्राप्त गरेको, अझ अपराधलाई कसरी ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रोपोगाण्डा हो । यसका विरुद्धमा राप्रपा सडक र सदनमा जान्छ । यो समितिले न्याय दिन सक्दैन । संख्याको आधारमा यो प्रकरणलाई निस्तेज नारियोस् । यो मान्छे बेच्ने प्रक्रिया हो । यसमा हाम्रो आपत्ति छ ।’
यस्तै, उनले सत्ताको नसा लागेपछि मान्छेले आफूलाई भगवान सम्झिने भन्दै भिजिट भिसा प्रकरणमा बेचिएका नागरिक राप्रपा र रास्वपाका मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि भएको बताए ।
उनले भने, ‘सत्ताको नसा यस्तो लाग्छ कि मान्छेले आफूलाई भगवान सम्झिन्छ । जनताको भलाई बिर्सिएर केवल आफ्नो स्वार्थमा लिप्त रहन्छ । भिजिट भिसा प्रकरण आज हामी कति दल छौ, कति सांसद छौ, कति हाम्रो संख्या छ यसले महत्व राख्दैन । अहिले जसरी ती बेचिएका नागरिक छन् ती नागरिकहरू के राप्रपा र रास्वपाका मात्रै हुन् त ? ती बेचिएका नागरिकहरू काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि छन् । वा एक वाक्यमा भन्दा नेपाली नागरिक हुन् । ती नागरिकलाई बेच्ने जुन अपराध भयो, यस्तो अपराधमा शंकाको घेरामा राजनीतिक दलहरु, विशेष गरेर१८ वर्षमा १४ जना गृहमन्त्रीहरू भए । ती सबैलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर माग गरिरहेका छौ । तर अहिले दूधको साक्षी बिरालो जस्तो मात्र भयो ।’
जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरूले नै कर्मचारी राखेर छानबिन समिति बनाए यसले विधिको शासन स्थापना नगर्ने पनि उनको भनाई छ ।