
काठमाडौं - प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहको पछिल्लो टिप्पणीले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
बजेटमा सीमित जिल्लामात्र प्राथमिकतामा परेको भन्दै सिंहले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले बजेट वितरणमा असमानता देखाउँदै प्रश्न गरेका छन्, ‘के ४–५ जना नेताका जिल्ला मात्र देश हो?’
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै आलोचना गरेपछि सिंह थप आक्रोशित बनेका छन्। उनले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मिचिएको सीमा फिर्ता ल्याउन नसक्ने, सम्पत्ति कौडीको भाउमा बेच्ने, आफ्नै नागरिक पशु जस्तै बेच्ने सरकारका प्रतिनिधिले राष्ट्रवाद सिकाउने?’
सिंहले बजेटमा असमानता देखिएको भन्दै आइतबारको संसदमा सरकारको नजरमा ४–५ जिल्ला मात्र नेपाल हो भने बाँकी जिल्ला लिजमा दिए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
सिंहले राष्ट्रवादको नाममा गरिएको आडम्बर र जनतामाथि लादिएको असमानतालाई कडा शब्दमा खण्डन गरेका छन्। उनले सरकारको नीति, शिक्षाको अवस्था, सार्वजनिक सम्पत्तिको दुरुपयोग र युवाको पलायनजस्ता विषय उठाउँदै राष्ट्रवादको प्रमाणपत्र बाँड्ने अधिकार कोहीसँग नभएको चेतावनी दिएका छन्।
<>