Harsamaya
प्रधानमन्त्रीले भने - नेपालीहरू सबैभन्दा पीडित अनुशासनका कारण  
प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरू पीडित रहेको बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित ११औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन् । 

उनले भने, ‘योग भन्ने बितिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्याले गर्दा छ ।  अनुशासन योगको पहिलो सुत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यान गर्दा पनि अनुशासन चाहिन्छ, हरेक चीजको अनुशासन हुन्छ ।’ 

प्रधानमन्त्री ओलीले अहंकारधारीहरुले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए ।   

‘यदि हतियारधारीहरूले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किँदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’उनले भने । 

यस्तै कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले योग बैद्धिक संस्कृतिको मात्र रहेन यो विश्वभरको साझा जीवनपद्धतिको रूपमा अगाडी बढेको बताए । उनले भने,‘योग र ध्यानलाई बैद्धिक चिन्तनलाई हामीले हाम्रो देशको बौद्धिक सम्पदाको रूपमा अगाडि बढाउनुपर्छ ।’ 
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update