
काठमाडौं -नेपाल प्रहरीमा जागिर गर्न खोज्ने युवाहरूका लागि अवसर आएको छ । प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नयाँ भर्तीका लागि खुला गरिएको हो ।
मानव स्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । खुला प्रतिस्पर्धा तर्फ ९९३, आदिवासीजनजाति तर्फ २६०, मधेसी २२८ , महिला १६२, दलित १२२, पिछडिएको क्षेत्र ४० र अमर अशक्त प्रहरी परिवार तर्फ ३७ जना माग गरिएको छ ।
यस अनुसार थप उम्मेदवारलाई प्रहरी सेवामा प्रवेशको बाटो खुलेको छ । थप गरिएको पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा उल्लेख गरिएको छ ।
नयाँ पद संख्या थपसँगै धेरै युवाहरूका लागि सरकारी सेवामा प्रवेश गर्ने अवसर थपिएको छ । इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन ।