काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरूमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन् ।
बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरूको लागि मात्र नुनको ढुवानी अनुदान दिएको बताएकी हुन् ।
‘हामीले ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुन नेपाल सरकारबाट ढुवानी अनुदान प्राप्त दुर्गम जिल्लाहरूको लागि मात्रै भनेर वितरण गरिरहेका छौं । दुर्गम जिल्लामा नेपाल सरकारले ढुवानी अनुदान दिएको अवस्थामा नुनको भाउ प्रति केजी नौ रुपैयाँ कायम गरिएको छ । बाँकी साल्ट ट्रेडिङकै क्षति भइरहेको छ,’उनले भनिन् ।
उनले नुनको गुणस्तर परीक्षणका लागि भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परीक्षण गरी बिक्री वितरण गर्ने गरिएको बताइन् । आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ ।