Harsamaya

जनकपुर - जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सांसद रामअशिष यादवले जनमत नेतृत्वको सरकारले ल्याएको प्रदेशको बजेटलाई असन्तुलित तथा दिशाहीन बजेटको संज्ञा दिएका छन् । 

हालै प्रस्तुत बजेटको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै सांसद यादवले अहिलेको बजेट कुनै गन्तव्यमा पुग्न नसक्ने खालको रहेको धारणा राखेका छन् ।

उनले नीति तथा कार्यक्रम र बजेट वक्तव्य दुवैमा थुप्रै भिन्नता रहेको बताए । नीति तथा कार्यक्रममा कृषि तथा शिक्षालाई प्राथमिकता दिइएको भएपनि बजेट वक्तव्यमा भने कृषिलाई सबैभन्दा पछाडि राखिएको उनको आरोप छ ।

‘कृषिमा २ अर्ब ८३ करोड र भौतिक पूर्वाधार विकासमा करिब १६ अर्ब रुपैयाँ तोकिएको छ । यसले नीति तथा कार्यक्रम र बजेट वक्तव्यको तालमेलमा धेरै फरक देखियो र नियत पनि देखियो,’सांसद यादवले भने ।

नारै नाराले भरेको नीति तथा कार्यक्रमलाई अहिलेको बजेट वक्तव्यले पूरा गर्न नसक्ने उनले आरोप लगाएका छन् । अहिलेको प्रदेश सरकारले मधेशका जनतालाई गुम्राहमा राख्न खोजेको सांसद यादवले बताए । उनले कंङक्रिट प्रदेश निर्माणतर्फ अहिलेको बजेट केन्द्रित गरिएको उनको आरोप छ ।

कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको भए यो बजेट आशावादी हुने उनले बताए । ‘बेटी बचाउ बेटी पढाउ’, ‘किशोरी बीमा’लगायत मधेश गौरवका योजनाहरूलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा सांसद यादवले गुनासो गरे ।

त्यस्तै उनले अहिलेको बजेटमा नयाँपन केही पनि नरहेको आरोप लगाएका छन् । साधारण खर्च र वित्तीय व्यवस्थापन खर्च न्यून राखी पुँजीगत खर्चमा वृद्धि गर्नुको साटो यसको ठीक विपरीत गरेर प्रदेश सरकारले आफूलाई पूर्ण रूपमा असफल तुल्याएको उनले भनाई छ । यो बजेटले मधेशको कुनै हालतमा कल्याण नहुनेमा उनी विश्वस्त रहेको सांसद यादवले धारणा राखेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update