Harsamaya
बाख्रा चराउन गएका चन्द्र बहादुरलाई बाघले खायो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बारा - बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ।

मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

बाख्रा चराउने कामदारको रूपमा काम गर्दै आएको ५५ वर्षीय चन्द्र बहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएकोमा घरमा फर्किएर नआएको र आफन्तहरूले प्रहरीलाई मंगलबार साँझ खबर गरेका थिए । खबरपछि ईलाका अम्लेखगंजसहितको टोली र स्थानीयहरूको खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा भुलनको शरीर मृत फेला परेको र जम्मा २७ वटा जिउँदो बाख्रा मात्र फेला परेको बारा प्रहरीले जनाएकको छ । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update