Harsamaya
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी
इरान–इजरायल युद्धमा मारिएका इरानी जनरल अली सादमानी ।

तेहरान - इजरायलले इरानमाथि गरेको आक्रमणमा अर्का वरिष्ठ इरानी जनरल अली सादमानी मारिएको दाबी गरेको छ । इरानले इजरायलको उक्त दाबीमा कुनै टिप्पणी गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी–७ शिखर सम्मेलनबाट ‘युद्धविरामका लागि पहल गर्ने’ भन्दै चाँडै बाहिरिएर वासिङ्टन फर्की नसक्दै इजरायलले शुक्रबार मात्रै नियुक्त भएका इरानी जनरल मारिएको दाबी गरेको हो ।  

इजरायलले गत शुक्रबारदेखि इरानमा आक्रमण गर्न थालेयता  इरानले कम्तीमा ११ वरिष्ठ जनरल गुमाइसकेको छ । इरानको सबैभन्दा वरिष्ठ सैन्य कमान्डर सादमानीलाई चार दिनअघि मात्र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उक्त पदमा नियुक्त गरेका थिए । उनले इजरायलले आक्रमणको सुरुमै मारेका वरिष्ठ जनरल गोलामली रसिदलाई प्रतिस्थापन गरेका थिए ।

युद्ध सुरु भएयता इजरायली आक्रमणमा परेर कम्तीमा २२४ जनाको मृत्यु र १४ सय बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । इरानको जवाफी कारबाहीमा इजरायलमा पनि कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ६ सय जना घाइते भएका छन् ।

इजरायली सेनाले मंगलबार बिहान पश्चिमी इरानको ड्रोन र मिसाइल प्रक्षेपण गर्ने केन्द्रलाई निसाना बनाएर हवाई आक्रमण गरेको थियो । इजरायली सेनाका प्रमुख प्रवक्ता जनरल एफी डेफ्रिनका अनुसार इरानविरुद्ध आक्रमण सुरु गरेयता इजरायली सेनाले इरानको १२० भन्दा बढी मिसाइल लन्चरहरू नष्ट गरिसकेको छ ।

यस्तै इरानी सेनाले पनि मंगलबार बिहान इजरायलमा फेरि मिसाइल प्रहार गरेका थिए । त्यसपछि इजरायलले आफ्ना नागरिकलाई अर्को सूचना नभएसम्म सुरक्षित आश्रयस्थलमा जान आह्वान गरेको थियो । 

यस्तै, क्यानडामा जारी जी–७ सम्मेलनमा सहभागी सदस्य राष्ट्रहरूले इजरायल–इरान युद्धमा चिन्ता व्यक्त गरेका छन् । उनीहरूले साझा वक्तव्य जारी गर्दै इरानसँग तनाव कम गर्नअपिल समेत गरेका छन् । 

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update