
काठमाडौं - सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासीता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रति भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् ।
सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रूपमा आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिएका हुन् । सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।
आन्दोलनकै सिलसिलामा मंगलबार पनि उनीहरूले काठमाडौंको न्यूरोड र बसन्तपुर क्षेत्रमा कालो ब्यानरसहित प्रदर्शन गरे । मंगलबार भक्तपुरका सुनचाँदी व्यवसायीहरू न्यूरोड पुगेर प्रर्दशन गरेका हुन् ।
भक्तपुर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष बिजेन शाक्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए ।
उनले भने, ‘हामीले गरिरहेको कार्यक्रम चाहेर गरेको होइन् । परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर लगाएर अन्याय गरियो । जन्मदेखि मृत्युसम्म चाहिने सुनमा जुन कर लगाएको छ त्यो अन्यायपूर्ण नै हो ।’
यस्तै, भक्तपुर सुनचाँदी व्यवसायी संघको सल्लाहकार साक्यन शाक्यले सुनलाई विलासीताको वस्तुमा राख्ने कुरा मान्य नभएको भन्दै हटाउनुपर्ने माग राखे ।
उनले भने, ‘सरकारले आर्थिक वर्ष २०८२।८३ मा सुनलाई विलासिता वस्तु भनेर २/२ प्रतिशत गरेर तीन तहमा ६ प्रतिशत थप कर लगाउने र रत्न पत्थरजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक छ । कर नीतिका विरुद्धमा हामी आज मौन जुलुसका साथ न्यूरोडमा आएका छौं । सुनलाई विलासीताको वस्तुमा राख्ने हामीलाई मान्य नभएको हुनाले यसलाई हटाउनुपर्छ ।’