Harsamaya

काठमाडौं - नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी उद्योगहरू आफैँपनि समस्यामा परेका कारण किसानको भुक्तानी रोकिएको बताएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यतिबेला समग्र डेरी क्षेत्रको चेन बिग्रिएर आफैँ समस्यामा परेकाले किसानको भुक्तानी समयमा दिन नसकिएको बताएका हुन् ।

करिब साढे दुई वर्षदेखि नेपालका डेरी उद्योगहरू समस्यामा परेका कारण पछिल्लो समय उद्योगीले किसानलाई पैसा दिएनन् र किसानले पाएनन् भन्ने चर्चा व्यापक रूपमा चलेको उनको भनाइ छ । तर उद्योगीले किन किसानलाई भुक्तानी दिन सकेनन् भन्ने कुराको वास्तविकता बाहिर नआएको उनले बताए । यसको वास्तविकता विगतमा महामारीको रूपमा देखिएको कोभिडसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।

‘दुध भनेको अन्य बस्तु जस्तो लामो समयसम्म मौज्दात गरेर राख्न पनि मिल्दैन, त्यसलाई धूलो वा बटर बनाएर राख्नलाई थप लगानी लाग्छ । कोभिडसँगै डेरी क्षेत्र अझ बढी समस्यामा परे । किनभने कोभिडका कारण दूध खपतमा कमी आयो र किसानको दूध खेर जाने अवस्था सिर्जना भयो । हामीले दूध खेर जान नदिन जसरी हुन्छ दूध नफालौं भन्ने भएर धुलो दूध र बटरमा कन्भर्ट गर्दै गएपछि ५/६ अर्ब रुपैयाँको मौज्दात रहन गयो,’ उनले भने । कोभिडबाट तंग्रिदै गर्दा फेरी लम्पीस्कीन रोग आयो जसले गर्दा त्यस्तो रोग लागेका गाईवस्तुको दूध खानु हुँदैन भन्ने भ्रम फैलियो  । तर कुनैपनि डाक्टरले त्यस्तो रोगबाट ग्रस्त गाइबस्तुको दूध खान हुँदैन भनेको छैन् । बढ्दो युवा विदेशीने क्रमले गर्दा पनि खपतमा असर गर्यो । पछिल्लो समय आर्थिक मन्दीको पनि असर पर्न थाल्यो । जसले गर्दा मान्छेको आम्दानीमा प्रभाव पर्यो त्यस कारण खपत घटाउन अझ समस्या भयो यस्ता अनेक कारणले डेरीहरु समस्यामा छन् ।’

पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको कारण व्यापार व्यवसाय बिग्रिएर पनि कतिपय मान्छेहरू गाउँतर्फ बसाइँ सरेर गएको र उनीहरूले पनि गाउँमा गएर पशुपालन गरेपछि दूध उत्पादनमा वृद्धि हुन गई डेरी उद्योगहरूले झन् धेरै दूध खरिद गर्ने र धूलो दूध बनाउनुपर्ने बाध्यता भएको उनको भनाई छ ।

जसले गर्दा अन्य बेलाको तुलनामा प्रतिदिन ६/७ लाख लिटर दूध बढी उत्पादन भएको र धूलो दूध र बटरको मौज्दात हरेक वर्ष थपिदैं गएको उनको भनाई छ । ‘यस्ता समस्या देखाएर उद्योगीले किसानको पैसा दिन नखोजेको होइन् । जस्तै किसानसँग दुई लाख रुपैयाँको दुध किनियो भने त्यसमध्ये २० हजार जति अर्को चोटिलाई बाँकी राखेर दिइएको छ । त्यस्तो पैसा बढ्दै गएर अहिले एकै पटक धेरै जस्तो देखिएको हो । तर त्यस्तो धेरै समस्या पनि अहिले होइन् । हामीले भुक्तानी दिनुपर्ने र लिनुपर्नेहरूसँगको पनि छलफल गरेका छौं,’ उनले भने ।

‘दैनिक ७२ लाख लिटर दूध उत्पादन हुन्छ, ३६ लाख लिटर दूध बजारमा आउँछ त्यसमध्ये १७ प्रतिशत औपचारिक क्षेत्रमा जान्छ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत जान्छ । त्यसकारण औपचारिक क्षेत्रको मात्रै दैनिक करिब ८० देखि ९० करोड रुपैयाँ सम्मको व्यापार हुन्छ भनेपछि अहिले पनि किसानले नै भनेको कुरा ५ अर्ब हो । यति ठूलो व्यापारमा त यो सानो रकम हो ।’

सबै उद्योगीले किसानलाई पैसा दिन बाँकी नरहेको बताउँदै उनले सबै उद्योगीलाई एउटै बास्केटमा राखेर हेर्न नहुने तर्क गरेका गरेका छन् । आफूले किसानलाई पैसा भुक्तानी गर्न बाँकी नरहेको दावी गर्दै उनले डेरी एसोसिएशनका सदस्यहरूमध्ये छुर्पी निर्यात हुन नसकेका ४÷५ जनाको मात्रै भुक्तानी बाँकी रहेको दाबी गरे ।

डेरी क्षेत्रको चेन प्रणालीमा समस्या आएकाले नै अहिलेको सबै समस्या भइरहेको बताउँदै दाहालले कसैले बेइमानी गरेको वा किसानको पैसा नदिएर अन्यत्र लगानी नगरेको बताए । दूध उत्पादक किसानले सिधैँ उद्योगीलाई दूध बेच्ने नभई उद्योगी र किसानको बीचमा ४/५ वटा तह भएकोले त्यसमा पनि समस्या रहेको उनको भनाई छ । जसले गर्दा सबैतिर समस्या थपिँदा अहिले त्यो ठूलो समस्याको रूपमा बाहिर आएको उनको दाबी छ ।

तर बाहिर उद्योगीले पैसा दिएनन् भन्ने व्यापक चर्चा हुँदा उद्योगीपनि समस्यामा छन् भन्ने कुरा तर्फ कसैले ध्यान नदिनु दुःखद रहेको उनले बताए । उनका अनुसार यतिबेला करिब १ अर्ब रुपैयाँ बराबरको १५ देखि २० लाख केजी बटर मौज्दात रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update