
काठमाडौं - नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट काँग्रेस, एमाले र स्वार्थ समूहतिर मात्र ढल्किएको भन्ने पूर्वाग्रह पूर्ण विचारहरू प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समूहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरूले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरू समेटिएको दाबी गरे ।
उनले भने,‘ यो सरकार एमाले र काँग्रेस लगायत पार्टीको गठबन्धनमा बनेको छ । त्यस कारण यो बजेट कतै काँग्रेसतिर मात्रै ढल्किएको ,कतै स्वार्थ समूहतिर मात्र ढल्किएको जस्तो भयो भनेर प्रतिपक्षको सांसदले भन्नुभयो । यो नितान्त पूर्वाग्रहपूर्ण विचार हो । बजेटमा सम्पूर्ण क्षेत्रहरू समेटिएका छन् ।’
त्यस्तै उनले बजेट प्राथमिकतामा आधारित रहेर आएको भन्दै श्रोत प्रक्षेपण पनि ठिकसँग गरिएको धारणा राखे । आयोजनाको सङ्ख्या धेरै हदसम्म घटाइएको बताउँदै उनले अर्थतन्त्रलाई लयमा फर्काउन यस वर्षको बजेट केन्द्रित भएको बताए ।
उनले भने,‘समग्रमा यो बजेट प्राथमिकतामा आधारित छ । श्रोत प्रक्षेपण ठिकसँग गरिएको छ । आयोजनाको सङ्ख्या धेरै हदसम्म घटाइएको छ । यो वैज्ञानिक छ । अर्थतन्त्रलाई लयमा फर्काउन यो केन्द्रीय भएको देखिएको छ । निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आएको छ । आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको छ र आन्तरिक उत्पादनलाई विशेष जोड दिएको छ । यसमा सरकारलाई धन्यवाद छ तर कमी भएको ठाउँहरूमा सुधार्ने सङ्कल्प गरौँ ।’
सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठिक अरु सरकारमा हुँदा सबै बेठिक भन्ने गलत भाष्य निर्माण भएको भन्दै , ‘नयाँ ढङ्गले अगाडि बढ्ने सङ्कल्प हामीले गर्नै पर्छ । आज म ठिक तँ बेठिक । म भएको भए देश बन्थ्यो ,तँ हुँदा बनेन जस्तो प्रकारले भाष्य निर्माण गरिँदै छ । यो वास्तवमा धेरै दिन टिक्ने विषय होइन । यथार्थको जगमा हामी सबै उभिनुपर्छ ।’