Harsamaya
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शहिद, बेपत्ता परिवार, घाइते योद्धाहरू आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन् ।

सोमबार शहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औँ स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा शहिद, बेपत्ता परिवार, घाइते योद्धाहरूलाई ऊर्जाको रूपमा लिएको बताएका हुन् ।

उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौँ र त्यसै गरी लोक मार्ग केन्द्रित अभियान पोखरामा समापन गरेका छौँ । यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन् । त्यसमा पनि शीर्ष स्थानमा शहिद, बेपत्ता परिवार, घाइते योद्धाहरूलाई राख्यौँ । उहाँहरूको वेदनाहरू सविस्तार सुन्यौ । उहाँहरूलाई सुन्दा हामी संवेदनशील भयौँ ।’

प्रवक्ता सापकोटाले अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता भएकालाई पनि शहिद घोषणा गरिने भनेर दिनुभएको अभिव्यक्तिले बेपत्ता परिवारका सदस्यमा चमक आएको बताए ।

‘बेपत्ता परिवारमा महिलाहरूले व्यक्त गरेको कुरा सुन्दा मर्माहत भयाैँ ।  आफ्नो श्रीमान् साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ । सोही क्रममा अध्यक्षले बेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुभएकाले उहाँहरूमा चमक देखियो । त्यो नै सबैभन्दा ठुलो ऊर्जाको विषय हो,’ उनले भने ।

त्यसै गरी नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अभियानले नागरिकमा उत्साह बढेको भन्दै अहिलेको सरकारले जनताका असन्तुष्टि पैदा गरेको बताए ।

‘अहिलेको सरकार भ्रष्ट र निरङ्कुश छ । जसले देशमा आजको आवश्यकता पूरा गर्ने कुरा छाडौँ देशलाई सङ्कटको दिशातिर धकेलिरहेको छ । यसैको जगमा टेकेर गरेका गलत कामले जनताका असन्तुष्टि बढेको छ । त्यस कारणल प्रतिगामी शक्तिहरू सल्वलाइरहेका छन्,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update