
काठमाडौं - संघीय संसद अन्तर्गत आज दुबै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिनको १ बजे र राष्ट्रियसभाको बैठक सवा १:१५ मा बस्दै छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यसै गरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ । यस्तै राष्ट्रियसभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति माया प्रसाद शर्माले “त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले "विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर केही दिनदेखि संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।