Harsamaya

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै मधेसीहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा जसपाको काठमाडौं उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौंमा मधेसीहरू हेपिएको भन्दै आफ्नो हकको लागि एकढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाडौं उपत्यका गठन गरिएको जानकारी दिए । 

उनले भने,‘ मधेसीलाई हरेक कुरामा भेदभाव गरिएको छ । कवाडीहरूले काठमाडौंमा आन्दोलन गर्दा लाठी चार्ज भयो । अरूले गर्दा केही भएन । त्यसैले हामी सबै मधेसी संगठित हुन आवश्यक छ । हामी एकढिक्का भयौं भने काठमाडौंमा कसैले दबाउन सक्दैन । काठमाडौं बस्ने मधेसवालाहरूको संगठित गरेर पार्टीसँग जोडिएको छ ।’

उनले मधेसीहरूको जनसङ्ख्या धेरै भएपनि एकजुट हुन नसकेको कारण आफ्नो हकको लागि बोल्न नसकेको बताए । मुलुकको राजनीतिमा विसङ्गती र विकृति रहेको भन्दै राज्यले गरेको गलत कामलाई गलत भन्नेसामथ्र्य गठित संगठनले राख्नुपर्ने उनको भनाइ छ । 

उनले भने,‘हाम्रो यतिधेरै जनसङ्ख्या भएपनि एकजुट हुन सकेको छैन । आफ्नो हकको लागि बोल्न सकेको छैन । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ । हामी त्यसमा खडा हुनुपर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ ।’

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update