Harsamaya

काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको सहज व्यवस्थापन हुनसक्ने अवस्था अहिलेको समयमा नरहेको बताएका छन् ।

आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले १३ लाख टन रासायनिक मल बजारमा आवश्यक रहेकाले अहिले साँढे चार लाख टन मात्रै रासायनिक मल उपलब्ध रहेको बताएका हुन् ।

उनले भने, ‘रासायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था अहिलेको समयमा छैन । १३ लाख टन  रासायनिक मल बजारमा आवश्यक छ । हामीसँग साँढे ४ लाख टन मात्रै रासायनिक मल छ । हामीले रासायनिक मलको व्यवस्थापन गर्न सकेका छैनौं । कारण के हुनसक्छ भन्दा आर्थिक रूपले नै हामी त्यो व्यवस्थापन गर्न सकिरहेका छैनौं ।’ 

साथै उनले रासायनिक मलका लागि बजारमा जुन ढंगको आलोचना भइरहेको छ त्यसलाई स्वाभाविक रूपमा स्विकार गर्दै प्राप्त भएका रासायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले रासायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि प्रदेशलाई जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा प्रत्येक स्थानीय तहमा पुर्याइने बताए ।

उनले भने, ‘आर्थिक रूपमा हामी चाहिँ रासायनिक मलका लागि जति व्यवस्थापन गर्न सक्नुपथ्र्यो त्यो सकेका छैनौं । सहज व्यवस्थापन हुन सकेको छैन र  बजारमा जुन ढंगको आलोचना भएको छ त्यसलाई हामीले स्वभाविक रूपमा स्विकार गर्दै प्राप्त भएका रासायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि हामीले  प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौं । प्रदेशमार्फत प्रत्येक स्थानीय तहमा आवश्यकताका आधारमा व्यवस्थापन गर्ने काम गरेको छौं मन्त्रालयको तर्फबाट ।’

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update