Harsamaya
राजावादी भेलामा लिङ्देन नआएपछि होहल्ला 
राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला ।

काठमाडौं - आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । 

राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे ।

भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन्  । 

कार्यकर्ताहरूले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे । केही बाहिर रहेका कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता  हुँदैनन् तबसम्म आन्दोलन गरि रहने बताएका छन् । राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन् । आन्दोलन समिति ल्याउने भनेर लागेकाले  नै गणतन्त्रवादीसँग ल्याउन लागेको केहि कार्यकर्ताले बताएका छन्  । 

यसैगरी  विनोद कंडेलले आन्दोलनमा भाग लिने प्रति धन्यवाद ज्ञापन गरेका छन् । राप्रपा महामन्त्री राजेन्द्र गुरुङले जुन उदेश्य भित्र हिडेका छौँ त्यसलाई फोकस गर्न पर्ने बताए । उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोदनलाई गन्तव्यमा पुर्याएर मात्र छोड्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update