Harsamaya
रहेनन् ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतम
हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ ।

काठमाडौं - हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ ।  करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतमको गए राति १२ः१० बजेको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको उनको परिवारले जनाएको छ । कलाकार गौतमको पशुपति आर्यघाटमा आज बिहान ८ः३० बजे अन्त्येष्टि गरिने भएको छ ।

कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै  यो संसारबाट बिदा भएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।

दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए । 

पुनः उनको स्वास्थ्यमा  समस्या आएपछि करिब डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए ।

केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update