Harsamaya
सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै,  विपक्षी दलहरूले अवरोध गर्ने
संघीय संसद ।

काठमाडौं - संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने  कार्यसूची रहेको छ । 

राष्ट्रियसभाको  बैठकमा पनि उपप्रधान एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

तर विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ । गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update