
काठमाडौं - यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ‘ नियमावली खारेज गर्नुपर्ने माग सहित यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा आज देखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको उनीहरूको छ ।
आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’