Harsamaya
चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु, घरनजिकै झाडीमा भेटियो शव
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बर्दिया - बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो।

किशोरी बेपत्ता भएपछि अभिभावकले खोजी गर्ने क्रममा घरबाट करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ रहेको सिमलको झ्याङमा उनको शव फेला परेको थियो।

प्रहरीका अनुसार चितुवाको आक्रमणबाट किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको छ। घटनास्थलमै मृत्यु भएकी उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिएका छन्।

राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट मानवीय क्षति भएको यो दोस्रो घटना हो। यसअघि गत असोज २२ गते राजापुर नगरपालिका–३ तिघ्राका ४२ वर्षीय मङ्गल थारुको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

उक्त घटनापछि डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर राखेर एक सातापछि आक्रमणकारी चितुवालाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update