Harsamaya
बिहान तराई र उपत्यकामा हुस्सु लाग्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मौसम सफा रहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार हाल देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। कुनै पनि प्रदेशमा उल्लेखनीय मौसमी परिवर्तनको सम्भावना देखिएको छैन।

त्यस्तै, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। बिहानको समयमा हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update