Harsamaya
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं - हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधरणतया बदली रही कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।

आज राती भने देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update