Harsamaya
अब काठमाडौंमा बसेरै अन्य जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने
जिल्ला प्रशासन कार्यालय काठमाडौं ।

काठमाडौं - काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका अन्य जिल्लाका नेपाली नागरिकले अब काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्य जिल्लाको नेपाली नागरिकताको प्रतिलिपि सम्बन्धमा सूचना जारी गर्दै यस्तो व्यवस्था सार्वजनिक गरेको हो । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ र नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

गृह मन्त्रालयको परिपत्रअनुसार सेवा प्रवाहलाई सहज बनाउन उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार सेवा उपलब्ध गराउने जिम्मेवारी दिइएको छ ।

जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा लिन सक्नेछन् । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा पाउनेछन् ।

नागरिकताको प्रतिलिपिका लागि निवेदन दिँदा नागरिकता प्रमाणपत्रबाहेकका जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग भिड्नुपर्नेछ ।

तर, अभिलेख नभेटिएको वा नाम, थर, जन्ममिति तथा अन्य विवरणमा फरक परेको अवस्थामा साविकको नागरिकताभन्दा फरक विवरण राखेर प्रतिलिपि लिन चाहने व्यक्तिले आफूले पहिले नागरिकता लिएको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यस व्यवस्थाले काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकलाई नागरिकताको प्रतिलिपि लिन आफ्नो स्थायी ठेगाना भएको जिल्ला पुग्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update