काठमाडौं - आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश दलदलमा फस्दै गएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिले देशको अर्थतन्त्र डामाडोल, सामाजिक सद्भाव भद्रगोल र युवाहरूको भविष्य अन्योल अवस्थामा रहेको भन्दै देश दलदलमा फस्दै गएको बताए ।
उनले नेताहरूको सबै प्रयासहरू क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरू तमासा देखाइरहेको बताए ।
‘अहिलेका हाम्रा पार्टीका प्रमुख स्वघोषित राजाहरूलाई, अब तपाइँहरूको सबै प्रयासहरू असफल भयो । अब देशलाई निकास दिनुस् । तपाइँहरू फेरि जिद्दी गर्नुहुन्छ भने जनतालाई स्वीकार्य छैन । अब देशलाई चाहिएको छ निकास । त्यो भनेको अन्तरिम सरकार । प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु– तपाइँहरूले सबै प्रयास गर्नुभयो । काहीँ दुनियाँमा नभएको अभ्यास गर्नुभयो । न्यायाधीशलाई सरकार प्रमुख बनाउनुभयो । विपरीत जनादेश पाएको अपवित्र गठबन्धन बनाउनुभयो । समस्यामात्रै सिर्जना गर्नुभयो,’साहले भने, ‘फेरि पनि म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– राजीनामा दिनुस् । यो सडकमा तमासा गरेर तपाइँले सुख पाउने अवस्था छैन । तपाइँले राजीनामा दिनुहुन्छ भने जनता र देशले शान्ति पाउनेछन् । अन्तरिम सरकारमात्रै अहिलेको निकास हो भन्ने म ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले देशको व्यवस्था परिवर्तनका लागि आफूले जनयुद्ध र जनआन्दोलनका क्रममा अग्र भागमा रहेर लडेको स्मरण गराउँदै पछिल्लो समय सबै कुरामा धोका भएको बताए । आफू लोकतन्त्रका लागि लडेको भएपनि त्यसलाई नेताहरूले दलतन्त्र बनाएको, संघीयताको लागि लडेकोमा ७६१ वटा सरकार बनाएर दुनियाँमा कतै नभएको काम गरिएको उनको आरोप छ । यस्तै, उनले देशमा अहिले गणतन्त्र नभएर दलतन्त्र हाबी भइरहेको भन्दै गणतन्त्र नेपालमा देखाउने दाँतमात्रै भएको बताए ।
नेपालका ठूला भनिएका नेताहरूको सन्तान भने विदेश पठाएको र भएभरको सम्पत्ति उतै थुपारेको र केही नलागेपछि अब उनीहरू पनि विदेशतिरै जान तम्तयार भएर बसिरहेको उनले बताए ।
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै हालतमा गणतन्त्रवादी हुनै नसक्ने पनि उनको भनाई छ ।
कार्यक्रममा अर्थविद् प्राडा गोपीलाल न्यौपानेले मुलुक गणतन्त्रबाट बाहिर जान नसक्ने बताए । उनले हजारौंको बलिदानीबाट आएको गणतन्त्र सडकमा दुई चार जनाले सडकमा नाराबाजी गर्दैमा कतै पनि नजाने दाबी गरे ।