Harsamaya

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रूपमा समापन भएको बताएका छन् । 

बिहीबार एमालेले गरेको गणतन्त्र उत्सवको समापनमा बोल्दै उनले विभिन्न जातजातिका बाजागाजासहित र्‍यालीकासाथ गणतन्त्र उत्सवलाई भव्य रुपमा समापन गरिएको जानकारी दिए । 

उनले भने,‘हामीले यो उत्सव अत्यन्तै भव्य र शान्त रूपमा विभिन्न जातजाति बाजागाजा संस्कृतिकासाथ गणतन्त्र उत्सवलाई भव्य र्‍यालीकासाथ सम्पन्न गरेको छौं ।’

त्यस्तै उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकको रूपमा रहेको बताए ।

गणतान्त्रिक व्यवस्थामार्फत नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास निरन्तर जारी रहने उनको भनाई छ । 

उनले भने,‘जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र या गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकको रूपमा छ । नेपालको बहुभाषिक बहु सांस्कृतिक विशेषताको आधारमा समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरेको छौं । त्यो व्यवस्थामार्फत नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास निरन्तर जारी छ ।’

लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गर्ने गरेको भन्दै उनले अहिले समाज समानतातर्फ अगाडि बढ्नकासाथै मध्यम वर्गको उन्नति भइरहेको बताए ।  
ि
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update