Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.मिनेन्द्रराज रिजालले घटनाहरूको मूल विषयमाभन्दा बढि व्यक्तिको राजीनामाको विषय चर्चामा आउने गरेको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढि चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए । 

उनले भने, ‘पछिल्लो समय घटनाहरू बाहिर आउँछन् । ती घटनाहरूको मूल कुरामा चर्चाभन्दा बढि राजीनामा गर्नुपर्यो अथवा राजीनामा गर्नु पर्छ या पर्दैन भन्ने विषयमा बहस केन्द्रित भइरहेका छन् । अहिले(गृहमन्त्री रमेश लेखक)को मात्र होइन पहिलाको पनि चार पाँच वटा मुद्दा त्यस्तै छन् । ती घटनाको मूल आसय राजीनामा गर्नुपर्छ कि पर्दैन, राजीनामा नदिए संसद चल्छ कि चल्दैन भनेर पक्ष र विपक्ष बहस हुने गर्छ । त्यसैले सञ्चारको जिम्मेवारी भनेको सत्य तथ्य बाहिर ल्याउने हो, सतहीमा हिँड्नु भएन ।’

सोही कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदय शमशेर जबराले मिडिया ट्रायल, अदालतको ट्रायलभन्दा बढि महत्वपूर्ण हुन लागेको भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।  

उनले भने, ‘एक किसिमले मिडिया ट्रायल, अदालतको ट्रायलभन्दा बढि महत्वपूर्ण हुन लागेको छ । यसलाई हामीले कसरी नियन्त्रण गर्ने भन्ने कुरा आउँदैन तर यसलाई कसरी व्यवस्थित गर्ने त्यतातिर पनि ध्यान दिनुपर्ने हुन्छ । नत्र अहिले सामाजिक सञ्जालले कुनै मान्छेलाई गलत हो भनेर भनेपछि उसलाई अदालतले सहि भनेर पठाए पनि जनताको नजरमा गलत नै हुन्छ । त्यस कारण यसलाई कसरी व्यवस्थापन गर्नुपर्छ त्यतातिर ध्यान दिनुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, युनियनकै पूर्वअध्यक्षहरू रमेश तुफान, कुलचन्द्र वाग्ले, समिरजंग शाह, बन्द्री सिग्देललगायतले धारणा राखेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update