Harsamaya
विद्युत् विधेयकलाई एक महिनाभित्र संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको छ : उर्जा मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का ।

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत् विधेयकलाई एक महिनाभित्र संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा मन्त्री खड्काले विद्युत् विधेयकलाई चाँडो संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताएका हुन् । 

‘निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी ल्याउन लागिरहेको विद्युत् विधेयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौँ, एक महिनाभित्र संसदबाट पास हुन्छ,’ मन्त्री खड्काले भने । मन्त्री खड्काले मन्त्रालयले ऊर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेको बताए । ‘यो डेभलपर्सको मात्र समस्या होइन, मुलुककै समस्या हो, यो समस्याबाट माथि उठ्न सकिएन भने मुलुक नै समस्यामा पर्छ,’ उनले भने ।

सरकारले निजी क्षेत्रलाई साथमा लिएर ऊर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न ऊर्जा उत्पादकको महत्त्वपूर्ण भूमिका रहेको उनकाे भनाइ छ । 

उनले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि ऊर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति र उपसमिति गठन गरिएको जानकारी दिए । अव पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढ्ने उनको भनाई थियो ।

यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि सरकारले भर्खरै विद्युत् खरिद सम्झौता (पिपिए)लाई अगाडि बढाएको बताए ।

इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगीलगायतले ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि शक्तिशाली निकाय आवश्यक रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update