काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउने गरेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताएका हुन् ।
उनले देश बिग्रियो भने युवाको भविष्य बिग्रने दाबी गरे । उनले देशका तीन ठूला दलका नेताहरूका कारण देश बिग्रिएकाले युवाहरूको भविष्य अन्योलमा परेको बताए ।
उनले तीन करोड जनसंख्या भएको देशमा ६० लाख भन्दा बढी विदेशमा छन् भने देशको अवस्था कस्तो होला भन्दै प्रश्न गरे । उनले शान्तिपुर्वक ढंगले लाखौं जनता सडकमा आयौँ भने एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका थिए ।
त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफैं अगाडि आउने भन्ने आफैमा भर पर्ने बताए । उनले भ्रष्टाचारीका विरुद्ध एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको संविधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे ।