
जनकपुर - जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।
गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरूलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरूलाई पनि धरौटीमा रिहा गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
उनीहरूले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौँतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरूलाई धरौटीमा छाडेर झन् घाउमाथि नुन छर्केको आरोप लगाएका छन् । धरौटीमा छुटेकाहरूले अंशुको आमालाई धाक धम्की दिँदै आएको उनीहरूको आरोप छ ।
आन्दोलनकारीहरूले अंशुको हत्यामा संलग्न सबै जनालाई कानुनको दायरामा ल्याएर सजाय नदिए आफूहरु अनिश्चितकालिन धर्नामा बस्ने चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको अगाडि पछाडि कोही नरहेको भन्दै अंशुको लागि मर्नु परे मर्न तयार रहेको बताएका छन् ।
उनीहरूले प्रहरी र राजनीतिक व्यक्तिहरूले पैसाको चलखेल गरेर अपराधी उम्काउन खोजेको आरोप लगाएका छन् ।