
चितवन - गत साउनयता १० महिनामा विश्वमा दुर्लभ मानिएका ३१ वटा एकसिङे गैँडा मरेका छन् । यस वर्ष प्राकृतिक कारणले ३० वटा गैँडा मरेका छन् भने एउटा करेन्ट लागेर मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
गत साउन ८ गते करेन्ट लागेर एउटा गैँडा मरेको थियो । त्यस्तै गरी भदौ ७ गते दुई महिनाको भाले गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जले दाबी गरेको छ ।
करिब एक वर्ष छ महिनायता चोरीसिकारीका कारण गैँडा नमरेपछि शून्य चोरीसिकारी वर्षका रूपमा मनाइएको छ तर प्राकृतिक रूपमा भने गैँडा मर्ने क्रम रोकिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले प्राकृतिक रूपमा गैँडा मर्नुलाई सामान्य लिनुपर्ने बताए । चोरी सिकारीका कारण चितवन राष्ट्रिय निकुञ्जमा यो वर्ष एउटा पनि गैँडा मरेको छैन ।
करिब सात दशकअघि चितवनमा आठ सय गैँडा थिए । अहिले छ सयको हाराहारीमा पुगेका छन् । चितवनको घाँसे मैदान र वासस्थानको अवस्था हेर्दा अझै दुई सय गैँडा वृद्धि गर्न सकिने दाबी निकुञ्जको छ । निकुञ्जले दिएको विवरण अनुसार साउन, भदौ र असोजमा दुई/दुई वटा, कात्तिकमा चार वटा, मङ्सिरमा दुई वटा, पुसमा एउटा, माघमा तीन वटा, फागुनमा चार वटा, चैतमा चार वटा, वैशाखमा तीन वटा र जेठको ९ गते एउटा गैँडा मरेको छ ।